फौजी संगठनमा चुस्त र दुरुस्त कार्य गर्न तालिम अपरिहार्य: आईजी केसी

  Sampatti News

April 25, 2022

काठमाडौं-सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) पुष्पराम केसीले फौजी संगठनमा चुस्त र दुरुस्त कार्यसम्पादन गर्नको लागि तालिम अपरिहार्य रहेको बताएका छन् ।

आईजी केसीले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुने सि।सं। १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

चेन अफ कमाण्ड फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निःस्वार्थ भावनकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायतका विविध जिम्मेवारीका क्षेत्रहरुमा आ-आफ्नो तहबाट योगदान पुर्‍याउनुपर्ने बताएका छन् ।

त्यसअवसरमा आईजी केसीले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पर्दै संगठनलाई राज्यबाट प्राप्त जिम्मेवारी निर्बाहमा भई तालिमले शारिरीक र मानसिक विकास गर्नुका साथै अधिकृत तथा जवानहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनले तालिमलाई प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले सिकाउने र सिक्ने मौकाको रुपमा लिनुपर्ने बताउदै प्रशिक्षार्थी अधिकृतहरुलाई अनुशासित र लगनशिल भई तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ अग्रसर रहन निर्देशन दिए ।

सोही अवसरमा आईजी केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले प्रतिष्ठानको तर्फबाट मायाको चिनो समेत प्रदान गरे ।

५६ हप्ता अवधिको उक्त आधारभूत तालिममा ५ जना महिला तथा ३९ जना पुरुष गरी कुल ४८ जना नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।

सो समारोहमा सशस्त्र प्रहरी निरिक्षक बिकास अधिकारीले उक्त तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गरेका थिए ।

समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत बिल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:April 25, 2022