जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै: पौडेल

Nepal Cover
९ चैत्र २०८२, सोमबार
image

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै यसले आशंका जन्माएको भनेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ, उनले भने ।

यस्तै उनले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो ? भन्दै प्रश्न समेत गरेका छन । ‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो,’ उनले भनेका छन् ।

साथै नेता पौडेलले कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको जानकारी दिए । ‘नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ । म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु,’ उनले भने ।