कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी गराउन देउवाको अपिल

  Sampatti News

May 10, 2022

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३० गते वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन अपिल गरेका छन् । मौन अवधि सुरु हुन केही घण्टा बाँकी छँदा देउवाले उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल गरेका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान् अभियानमा निर्भीकता साथ सहभागी भई मतदान गर्न आह्‍वान गर्दछु’, देउवाले भनेका छन् ।

अपिलमा उनले स्थानीय तह निर्वाचनलाई लोकतन्त्रको बलियो आधार भएको बताएका छन् । स्थानीय तह सङ्घीय शासन प्रणालीको आधारस्तम्भ पनि भएको उनको भनाइ छ ।

हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्रको रूपमा पनि स्थानीय सरकार भएको भन्दै देउवाले निरन्तर लोकतान्त्रिक सङ्घर्षको यात्रामा रहेको कांग्रेसका उम्मेदवारहरूलाई मत दिन आग्रह गरेका हुन् ।

प्रकाशित मिति:May 10, 2022