प्राइम कमर्सियल बैंकले पाँच अर्ब बराबरको ऋणपत्र बिक्री गर्दै

  Sampatti News

June 5, 2022

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको “१०.१५ प्राइम डिबेन्चर २०८४” नामको ऋणपत्र विक्री गर्न लागेको हो ।

प्रतिकित्ता रू. एक हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये रू.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

यो ऋणपत्रमा सामूहिक लगानीकोषहरूबाट भने आवेदन प्राप्त नभएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलोमा असार १४ गतेसम्म विक्री खुला हुने बैंकको भनाई छ ।

यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकको यो ऋणपत्रलाई केयर रेटिङग नेपालले समयमै दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संकेत गर्ने केयर एनपी सिङ्गल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व क्षमता औसत रहेको समेत संकेत गर्दछ ।

प्रकाशित मिति:June 5, 2022