June 7, 2022
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामाको माग उठेको छ ।
निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको जिकिर गर्दै एमाले सांसद लालबहादुर थापाले राजीनामा मागेका हुन् ।
बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । बूढीगंगाका केही वडाहरूमा कांग्रेस र एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गरेर मतदान गर्दा कतिपय स्थानमा ९९ प्रतिशत बढी मतदान भएको विवरण सार्वजनिक भएको थियो । त्यहाँ यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी निर्वाचन आयोगले गरिरहेको छ ।
तर, एमाले सांसद थापाले पुनः मतदान गर्ने निर्णय गरेर निर्वाचन आयोगले जनताको अभिमतको अन्याय गरेको आरोप लगाए ।
सांसद थापाले गृहमन्त्रीको राजीनामा माग गर्दै गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डीएसपीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका थिए । थापाले प्रचलित कानुनबमोजिम नै बूढीगंगामा मतदान भएको भन्दै पुनः निर्वाचन गर्नुको सट्टा मतगणना सुरु गर्न माग गरे ।
यही सन्दर्भमा उनले गृहमन्त्रीको राजीनामा, गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई हदैसम्मको कानुनी कारबाही गर्न पनि माग राखे ।
प्रकाशित मिति:June 7, 2022
November 28, 2024