हामी फुटेर होइन, जुटेर अगाडि बढ्न चाहन्छौँ : उपेन्द्र यादव

  Sampatti News

June 8, 2022

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन् । आज बिहान जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पाँचदलीय गठबन्धन आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म रहिरहने बताएका हुन् ।

लोसपालाई पनि गठबन्धनभित्रै ल्याउने र दुईटा सम्म मन्त्रालय दिएर सरकारमा समेत सहभागी गराउन प्रधानमन्त्रीले गरिरहेको प्रयासमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् ।

“हामी फुटेर होइन, जुटेर अगाडि बढ्न चाहन्छौँ । समाजिक न्यायको लागि, राष्ट्रहितको लागि गठबन्धन आवश्यक छ,” उनले भने ।

‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ,’ बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले भने, ‘हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’

गठबन्धन कहिले सफल र कहिले असफल हुने गरेको उनले बताए । प्रतिगामीलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको उनको भनाइ छ ।जसपाबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पार्टी एकताका लागि उनले आह्वान गरे । मधेसको मत बाँडिँदा जनतालाई फाइदा नहुने भन्दै एकताका लागि आफूहरू तयार रहेको उनले बताए ।
उनले हिजोको गल्ती सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको औल्याए । मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको बताउँदै उनले अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताए ।

पार्टी एकताका लागि ढोका खुला रहेको उनले बताए । “उहाँहरूलाई खुलेर सहयोग र स्वागत गर्न तयार छौँ,” उनले भने, “पार्टी एकताको लागि पनि हाम्रो ढोका खुला छ ।’

नागरिकता विधेयक संसद्को जारी अधिवेशनमा पेस भएर पारित हुने उनले उल्लेख गरे । अध्यक्ष यादवले ५ दलीय गठबन्धन प्रदेश र संघीय संसदको निर्वाचनसम्म कायम रहोस् भन्ने आफूले चाहेको बताए ।

प्रकाशित मिति:June 8, 2022