अर्थद्धारा सेयर बजार सुधारका लागि चार सदस्यीय सुझाव समिति गठन

  Sampatti News

June 8, 2022

काठमाडौं । अर्थ मन्त्रालयले सेयर बजारका समस्याबारे अध्ययन गर्न एक समिति गठन गरेको छ । समितिले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आउनु अगाडि नै समाधानका उपायसमेत समेटेर प्रतिवेदन दिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशकलाई संयोजक तोकिएको छ । बोर्डकै एक प्रतिनिधिलाई सदस्य सचिव बनाउँदै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट एकरएक जना प्रतिनिधि रहने गरी समिति गठन भएको स्रोतले जनाएको छ ।
अब अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आफ्ना प्रतिनिधि तोकेसँगै समितिले काम थाल्ने भएको छ ।

बुधबार धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा उपस्थित हुनु अगाडि अर्थमन्त्री जनार्दन शर्माले यस्तो समिति गठन गरेका हुन् ।

पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागिरहेको बेला मन्त्रालयले समिति गठन गरेको हो । ३२ सय अङ्कसम्म पुगेको सेयर बजार करिब २ हजार अङ्कमा झरिसकेको छ । सेयर बजार निरन्तर घटेसँगै लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

प्रकाशित मिति:June 8, 2022