स्थानीय निर्वाचनमा सिट र मत दुवैमा कांग्रेस पहिलो स्थानमा भएको दाबी (प्रतिवेदनसहित)

  Sampatti News Online

June 9, 2022

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस मत र सिट दुवैमा पहिलो भएको निष्कर्ष निकालिएको छ ।नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले विहीबार उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले ७५२ मध्ये ३२९ पालिका, १६६५ वडामा जित हासिल गरेको छ । विजयी भएका पालिकाका अध्यक्षमा १८८ र प्रमुखमा १४१ जना विजयी भएका छन् । जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउछ त्यस्तै, उपप्रमुख पदमा कांग्रेसले ३०० स्थानमा विजयी हासिल गरेकोमा १९० उपाध्यक्ष र ११० उपप्रमुखले विजयी भएका छन् । जुन कुल स्थानको ४० प्रतिशत हुन्छ ।

प्रतिवेदन अनुसार वडामा देशभरमा कांग्रेसले ३८ लाख ८३ हजार १३८ मत प्राप्त गरेको छ । त्यस्तै, प्रदेशगत रुपमा पनि कांग्रेस पहिलो स्थानमा छ ।

प्रतिवेदन अनुसार ७५३ स्थानीय तह मध्ये ३२४ पालिकामा गठबन्धन भएको हो । काँग्रेसले गठबन्धनसहित २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ ।

https://drive.google.com/file/d/1yETnSZVRPNvtFG6b2aGK3s0PVJR6RYWV/preview

प्रकाशित मिति:June 9, 2022