केपी ओलीकै सरकारका पालामा एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम भएको देखियो : अध्यक्ष दाहाल

  Sampatti News Online

June 16, 2022

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारका पालामा भएको देखिएको बताएका छन् । अहिले सरकारले सम्झौता गर्न लागेको भनी दुष्प्रचार गर्न खोजिएको भन्दै प्रचण्डले अहिलेको सरकारले यस्तो कुनै सम्झौता नगर्ने बताए ।

विहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्धका सहीद रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राष्ट्रवादको झुटो प्रचार एमालेबाट भईरहेको दावी पनि गरे ।

‘एसपीपी सैनिक सम्झौता हुँदैछ रे भनेर प्रचार गरिएको छ । त्यस्तो कुनै सम्झौता भएको छैन, त्यस्तो कुनै सम्झौता हुने छैन भनेर म यहाँबाट घोषणा गर्न चाहन्छु, एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु २०१९ मै केपी शर्मा ओलीकै सरकारका पालामा भएको तथ्यहरू बाहिर आएको छ,’ प्रचण्डले भने, – ‘केपी ओलीले उक्त सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामीले बुझ्नुपर्छ । यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधिनता र नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिन्छौँ ।’

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो कुनै पनि सैन्य सम्झौता नहुने प्रतिबद्धता जनाएको पनि प्रचण्डले बताए ।

रितबहादुर खड्काको बलिदानले अहिलेको परिवर्तन सम्भव भएको पनि उनको भनाइ थियो ।

तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका रितबहादुर खड्कालाई २०५९ साल असार २ गते रौतहटमा प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको थियो । प्रत्येक वर्ष असार २ मा माओवादी पार्टीले रितबहादुर खड्काको स्मृतिमा कार्यक्रम आयोजना गर्ने गरेको छ ।

प्रकाशित मिति:June 16, 2022