रवि लामिछाने ग्यालेक्सी टिभीबाट भए आउट, काठमाडौंबाट चुनाव लड्ने

  Sampatti News Online

June 16, 2022

काठमाडौं । रवि लामिछाने ग्यालेक्सी टिभीबाट आउट भएका छन् । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट आउट भएका हुन् ।
लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।

लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे ।
लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ । कँडेल उक्त कार्यक्रममा भ्वाइस ओभर गर्ने गर्थे ।

रवी लामिछानेका दाजु हरिशरण लामिछानेले पनि प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेवारी दिने घोषणा गरिसकेका छन् । उनको पनि निर्वाचन क्षेत्र तय भएको छैन ।

प्रकाशित मिति:June 16, 2022