June 17, 2022
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता नहुने बताएका छन् । आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा पुगेका प्रधानसेनापति शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगर्ने र नगरेको बताएका थिए ।
त्यही क्रममा उनले आफनो असार १३ गतेबाट हुन लागेको अमेरिका भ्रमणमा पनि कुनै सम्झौता गर्ने कार्यक्रम नै नरहेको प्रष्टाएका हुन् ।
‘अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन,’ प्रधानसेनापति शर्माले भने,-‘अहिले सार्वजनिक भएको एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नता पनि छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ ।’
प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ ।
त्यस्तै सेनाले अमेरिकी दूतावासलाई लेखेको पत्र साँचो भएको प्रधानसेनापति शर्माले प्रष्ट पारे । तर त्यो भूकम्पका बेला लेखिएको र त्यो सैन्य गठबन्धनका लागि नभएको पनि बताए ।
‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु,’ प्रधानसेनापतिले भने ।
प्रकाशित मिति:June 17, 2022
November 27, 2024