प्रधानमन्त्रीसँगको भेटमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले के भने ?

  Sampatti News Online

June 20, 2022

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार बालुवाटारमा पुगेर भेट गरेका छन् । विहान ११ बजेदेखि साँढे १२ बजेसम्म दुई महामन्त्रीसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

केन्द्रीय समिति बैठक बोलाउने, विभागहरू गठन तथा पूर्णता दिने, भ्रातृ संघसंस्थाका अधिवेशन गर्ने र पूर्णता दिने, पार्टीको नीति महाधिवेशन गर्ने देखि समसामयिक राजनीतिक घटनाक्रमबारे बालुवाटारमा गगन र विश्वले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । यो अनौपचारिक छलफल भएको र छलफल भोलि पनि सोही समयमा सोही स्थानमा हुने गरी गगन विश्व वालुवाटारबाट वाहिरिएका थिए । उनीहरुले प्रधानमन्त्रीलाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गरेर एसपिपी सधैंका लागि बन्द गर्न आग्रह गरेका छन् ।

‘सरकारका तर्फबाट साझा धारणा बनाई आवश्यक प्रक्रिया पुर्‍याएर एसपिपीलाई सधैंका लागि बन्द गरिदिनुस्,’ महामन्त्रीद्वयले भनेको भनाई उदधृत गदैं थापाको सचिवालयले भन्यो, ‘सरकारका तर्फबाट पत्र पठाएर एसपिपीको विषय बन्द गरौं ।’ विदेश नीतिबारे पनि प्रमुख प्रतिपक्षी दललगायतसँग छलफल गरेर साझा धारणा तय गरी अघि बढ्नुपर्ने उनीहरूको सुझाव थियो ।

उनीहरूले विदेशमा रहेका नेपाली मतदाताले मत दिन पाउने व्यवस्थाबारे केही न केही व्यवस्थाका लागि सरकाले पहल गर्नुपर्ने बताएका थिए । साथै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकोले जनतालाई राहत दिने कार्यक्रम सरकारले ल्याउनुपर्ने माग पनि उनीहरूले गरेका छन् ।

त्यस्तै शेयर बजारमा देखिएको समस्या र रेलबेको मुआब्जाबारे पनि समाधानका लागि सरकारले पहल गर्नुपर्ने उनीहरूको धारणा थियो । कांग्रेसले गत मंसिरमा १४ औं महाधिवेशन गरे पनि नीति महाधिवेशन गरेको थिएन । नीति महाधिवेशन पछि गर्ने भने पनि यो विषय ओझेल पर्दै गइरहेका बेला महामन्त्रीद्वय थापा र शर्माले सोमबार सभापति देउवालाई यसबारे ध्यानाकर्षण गराएका छन् ।

पार्टीलाई विधानअनुसार सञ्चालन गर्न छ महिनाभित्र गठन गर्नुपर्ने विभागलाई पूर्णता दिइनुपर्नेबारे उनीहरूले सभापति देउवासँग कुराकानी गरेको महामन्त्री थापाको सचिवालयले जानकारी दिएको छ ।

सभापतिले कार्यभार सम्हालेको दिनदेखि हिसाव गर्दा असार १० गते कांग्रेसको १४ औं महाधिवेशन भएको छ महिना पुग्ने नेताहरू बताउँछन् । त्यो दिनसम्म विभाग गठन र पूर्णता तथा भ्रातृ संस्थाबारे अधिवेशन वा पूर्णता दिने गरी टुंगो लगाउनुपर्नेमा महामन्त्रीद्वय छन् ।

उनीहरूले यी विषयमा छलफलका लागि केन्द्रीय समिति बैठक बोलाउनुपर्ने भएकोले कहिले बोलाउने भनेर सभापति देउवालाई सोधेका थिए । तर भोलि हुने छलफलले केन्द्रीय समिति कहिले बोलाउने भनेर तय हुने बताइएको छ ।

प्रकाशित मिति:June 20, 2022