राताम्मे बन्यो शेयर बजार, ८४ करोडमाथिको कारोबार

  Sampatti News Online

June 22, 2022

काठमाडौं । नेप्से साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३१.२१ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ५३ विन्दुमा थामिएको छ । मंगलबार नेप्से ३७.४९ अंकले बढेर एक हजार ९ सय २२ दशमलब ३० विन्दुमा पुगेर बन्द भएको थियो ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ८४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब २५ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९४ रुपैयाँ पुगेको छ भने ग्लोबल आईएमई समुन्नत स्किम १ को शेयरमूल्य पनि १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार युनाइटेड इदीमर्दी आरबी जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.४८ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 22, 2022