प्रचण्डको पुन: एक पटक प्रधानमन्त्री हुने चाहना

  Sampatti News Online

June 24, 2022

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आशीर्वाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरूमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए ।

‘अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ,’ उनले भने, ‘किनकि मेरै नेतृत्वमा हजारौँ नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति ।’

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि बिपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गरे ।

उनले भने, ‘पहिलो चोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो । यो सपना हो कि बिपना हो भनेर विचार गर्दागर्दै नौ महिला बित्यो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ ।’

‘वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना देखेर जे गरियो। त्यो सफल भएन । त्यसबारे मैले अहिले लामो भन्नु केही छैन । तर तपाईंहरूले भन्नुभयो, तपाईंहरूले भनेको कुरा तपाईंहरूको आशीर्वाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रूपमा देशमा देखापरेका यी तमाम विकृतिहरूमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ’, उनले भने, ‘किनकि मेरै नेतृत्वमा हजारौं नेपालीहरूको बलिदान भएको छ। यो परिवर्तन ल्याउनका निम्ति। यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु ।’

प्रकाशित मिति:June 24, 2022