वाम तालमेलमा लागे वामदेव

  Sampatti News Online

June 26, 2022


तत्कालीन नेकपा एमालेका उपाध्यक्ष एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सक्रियता बढाएका छन् । स्थानीय तहको निर्वाचनमा निष्क्रिय रहेका उनी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको चर्चा सुरु हुनासाथ सक्रिय भएका छन् ।
तत्कालीन नेकपा फुटाउन भूमिका खेलेको आरोप खेपेका गौतम पुनः वाम तालमेल गरेर नेकपा जुटाउने अभियान जुटेका हुन् । गत शनिबारदेखि सुरु भएको पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै गौतमले नेकपा जुटाएरै छोड्ने प्रतिवद्धता जनाए । शनिबार र आइतबार एकता राष्ट्रिय अभियानका नाममा बैठक राखेका उनले नेकपालाई पुरानै अवस्थामा फर्काएर आफूसमेत सक्रिय राजनीतिमा लाग्ने प्रतिवद्धतता जनाएका छन् । संयोजन समितिले पार्टी एकता वार्ता कमिटी निर्माण गर्ने छन्। हामी एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता सुरु गर्ने छौं । त्यसैगरी जसपा र राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट र समाजवादी पार्टी तथा समूहसँग पार्टी एकता र कार्यगत एकताको निम्ति वार्ता अगाडि बढाउने छौं,’ राजनीतिक प्रस्तावमा गौतमले भनेका छन्, ‘यदि नेकपा जुटाउन सम्भव नभएमा सम्भव हुन सक्ने पार्टीहरुसँग एकताको प्रस्ताव राख्ने छौं । हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ साल जेठ ३ मा एकीकृत भएको नेकपाको पुनरोदय हुने छ ।

उनले यसरी निर्माण हुने नेकपा नै स्थापनाकालको नेपाल कम्युनिस्ट पार्टीको सच्चा उत्तराधिकारी हुने दाबीसमेत गरे । उनले भनेका छन्, ‘हामी पनि सोही पार्टीमा सगौरव एकीकृत हुनेछौं ।

प्रकाशित मिति:June 26, 2022