अध्यक्ष नेपालले कार्यकर्तालाई दिए यस्तो निर्देशन

  Sampatti News Online

June 27, 2022

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्ताहरूलाई सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा लगाउन निर्देशन दिएका छन् ।

उनले अरुको भर नपरी सम्पूर्ण शक्तिका साथ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रीय परिषद्को प्रथम बैठकलाई काठमाडौँ मा सम्बोधन गर्ने क्रममा आज नेपालले वडा तहसम्म पार्टी विस्तार गर्नका लागि लाग्न निर्देशन दिएका हुन् ।

‘पार्टीको सम्पूर्ण ध्यान प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित गर्नुपर्ने भएको छ । अधिकतम सफलता हासिल गर्नका लागि लाग्नुपर्छ, उनले भने, अरुमाथि भरोसा गर्ने नभई आफ्नै शक्तिमा जानुपर्ने भएको छ ।’

प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अहिलेदेखि नै सम्भावित उम्मेदवार खडा गरेर काम थाल्न नेपालले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले सात वटै प्रदेश सभाका निर्वाचन क्षेत्रमा पनि उम्मेदवार तयार पार्न भनेका छन् ।

स्थानीय तह निर्वाचनबाट ६० प्रतिशत वडामा पार्टी सङ्गठन पुगेको दाबी गर्दै नेपालले अबको निर्वाचनसम्म सबै स्थानीय तह र पालिकामा सङ्गठन विस्तार गर्नुपर्ने बताए ।

नेपालले ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरेका छन् ।

सोमबार पार्टीको केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दै नेपालले २८ प्रतिशत स्थानीय तहमा उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएको दाबी गरे ।

‘हामीले यसपटक झण्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गरेका थियौं,’ नेपालको भनाइ छ, ‘यसमा ९ लाख मत पायौं । यदि हामीले सबै ठाउँमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत पाउने थियौं । कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियौं । २० लाख मत पाउने हो भने प्रतिनिधिसभामा हाम्रो केही सिट सुरक्षित हुनेछ ।’

प्रकाशित मिति:June 27, 2022