अभिनेता राजेश हमाल प्रचण्ड निवासमा, यी विषयमा भयो छलफल

  Sampatti News Online

July 1, 2022

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच कुराकानी भएको छ । शुक्रबार बिहान प्रचण्डलाई भेट्न हमाल उनको निवास खुमलटार पुगेका थिए । उनीहरूबीच समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कलाकार चेतन सापकोटाले बताएका छन् ।

देशमा राजनीतिक परिवर्तन भएको र जनतामा चेतनाको स्तर बढेको भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा प्रचण्डले खेलेको भूमिकाको हमालले प्रशंसा गरेका प्रचण्ड सचिवालयले जनाएको छ । भेटमा हमालले प्रचण्डसँग राष्ट्रले सम्झिए आफू सेवा गर्न तयार रहेको बताएका थिए ।

नेपाललाई विदेशी चलचित्रको सुटिङका लागि हब बनाउन सकिने भन्दै त्यसका लागि नेपाली कला संस्कृति अनि प्राकृतिक दृश्यलाई विश्वमा चिनाउन जरूरी रहेको हमालले बताएका थिए ।

जवाफमा प्रचण्डले हमाललाई आफूले बौद्धिक अनि अध्ययनशील कलाकारको रूपमा बुझेको बताएको सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति:July 1, 2022