राप्ती हाइड्रोको आईपीओ बाँडफाँट

  Sampatti News Online

July 1, 2022

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले जेठ २४ गतेदेखि असार १० गतेसम्म आयोजना प्रभावित रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ जारी गरेको थियो ।

सो अवधिसम्म रितपूर्वक आवेदन दिने आवेदकहरूमा ५ लाख ७५ हजार १७० कित्ता शेयर कम्पनीले असार १६ गते बाँडफाँट गरेको हो । कम्पनीले स्थानीयका लागि ६ लाख १२ हजार ७९३ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयका लागि छुट्याईएको ३७ हजार ६२३ कित्ता शेयर भने वितरण हुन सकेको छैन् । उक्त शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्दा थप हुनेछ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले रुकुम जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी साउन १ गतेदेखि उक्त आयोजनबाट व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

यस आयोजनाको कुल लागत व्याज सहित रू. १ अर्ब ३३ करोड ४४ लाख २८ हजार हुने अनुमान गरिएको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. ३१ करोड ८६ लाख ५२ हजार ८०० रहेको छ । संस्थापकतर्फ जारी पूाजीको ५२ प्रतिशत शेयर स्वामित्व रहेको हो ।

आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर जारी गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ३८ प्रतिशत शेयर जारी गर्नेछ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २७ लाख ९३ हजार ८०० पुग्नेछ ।

गत आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक सञ्चित नाफा रू। २ करोड २ लाखभन्दा बढी छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३५ रहेको छ । प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको पहिलो कारोबारका लागि मूल्य रेञ्ज कम्पनीले पाउनेछ ।

प्रकाशित मिति:July 1, 2022