नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट

  Sampatti News Online

July 7, 2022

बिहीबार नेप्से परिसूचक १६।६० अंक घटेर २०२७।३२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३।४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १।१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।२१ अंक घटेको छ।यस दिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ स्टकको ३१ हजार २७६ पटकको कारोबारमा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको ४७ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली र शिवम् सिमेन्ट्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।यस दिन कुल ४६ वटा स्टकको मात्र मूल्य बढेको छ। मूल्य बढेका स्टकको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको गिरावट दर पनि कम नै रहेको छ। यस दिन समिट लघुवित्तको शेयरमूल्य सर्वाधिक ५।२० प्रतिशत घटेको छ। त्यसैगरी, लिबर्टी इनर्जीको ५ प्रतिशत, नयाँ सारथी लघुवित्तको ३।९७ प्रतिशत, गुराँस लघुवित्तको ३।८४ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको ३।६४ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाट अरु सबैको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०।६६ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:July 7, 2022