डीएसपी र घुमुवा मिलेर तीन लाख रुपैयाँ ‘घुस’ लिए

  Sampatti News Online

August 16, 2022

काठमाडौं । रुपन्देहीको कार्यबाहक प्रहरी प्रमुख भएका डीएसपी केसीले घुमुवा शाहीसँग मिलेर तीन लाख रुपैयाँ घुस लिएका हुन् । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका ‘घुमुवा नाइके’ वरिष्ठ सई विजय शाही मिलेर एक कुरियर संचालकसँग तीन लाख रुपैयाँ ‘घुस’ लिएको छ ।
यो घटना करिब डेढ हप्ता अघिको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका घुमुवा नाइके बरिष्ठ सई शाहीले कार्यबाहक जिल्ला प्रहरी प्रमुखको जिम्मा सम्हाल्दै आएका डीएसपी केसीलाई एउटा सूचना दिए– ‘भैरहवास्थित सिद्धार्थनगर–१२, आवारोडको एउटा कुरियरले लाखौंको अवैध कपडा पार्सल गरेर पठाउँदैछ ।’

शाहीको जानकारीपछि जिल्लाबाट प्रहरी टोली छापा हान्न बुद्ध कुरियर एण्ड कार्गो सर्भिस प्रालिमा पुग्यो । प्रहरीले सोधखोज गर्‍यो र केही कपडा बरामद गर्‍यो । त्यसपछि गोदाममा छापा हान्न डीएसपी केसीले निर्देशन दिए ।

त्यतिन्जेल संचालक कुरियरको अफिसबाट बाहिर गएका थिए । रातभर गोदाममा छापा हान्ने भनेर प्रहरी खटिएको थियो । तर, छापा नै नहानी फर्किएको स्रोतले बताएको छ । उक्त घटनापछि रातभर कुरियरको गोदाम कुरेर ड्यूटीमा खटिएका तल्लो तहका प्रहरी नै अचम्मित भएका थिए । एक प्रहरी भन्छन्, ‘रातभरमै कुरियर संचालकले सेटिङ गरेको होला, भोलिपल्ट डीएसपी साबले छापा नहान्ने निर्णय गरे ।’

रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मी कानको समस्या भएपछि उपचारका लागि काठमाडौं गएका बेला इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख समेत रहेका डीएसपी केसीले जिल्ला प्रहरीको नेतृत्व सम्हालेका थिए । जिल्लामा सरुवा भएर आएका डीएसपी श्यामु अर्याल अझै कार्यालयमा हाजिर भएका छैनन् । जिल्ला कार्यालयमा डीएसपी नभएपछि कार्यबाहक प्रहरी प्रमुखको जिम्मा केसीलाई दिइएको थियो ।

डीएसपी केसी र शाहीले तीन लाख रुपैयाँ घुस लिएको घटना केही प्रहरी अधिकृतले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी नलप्रसाद उपाध्यायलाई पनि जानकारी गराइसकेका छन् । तर, यसबारे छानबिन भएको छैन । स्रोतका अनुसार डीआईसँग डीएसपी केसी र शाहीले प्रहरीलाई बद्नाम गराउनका लागि झुटा आरोप लगाइएको भन्दै ढाटेका थिए ।

अहिले रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मी उपचार गराई कार्यालय फर्किइसकेका छन् । तर, यसबारे डीएसपी केसी र वरिष्ठ सई शाहीले केही बताएका छैनन् । डीआईजी उपाध्याय र एसपी रेग्मीलाई गुमराहमा राखेर केसी र शाहीले तीन लाख रुपैयाँ बुझेका हुन् ।

कुरियर संचालकले प्रहरीले आफूलाई ‘थ्रेट’ गरेर तीन लाख रुपैयाँ घुस लिएको भन्दै आफू निकटस्थसँग दुखेसो पोख्दै आएका छन् । कुरियर संचालकले प्रहरीले घुसवापत आफूबाट तीन लाख लिएको र बाहिर प्रहरीले घुस खायो भन्दै हिंडेपछि केही स्थानीयले अडियो रेकर्ड गरेर राखेको जानकारी प्राप्त भएको छ ।

घुस दिएको रेकर्ड पब्लिकको हातमा पुगेको थाहा पाएपछि प्रहरीले कुरियर संचालकलाई बोलाएर चेतावनीसमेत दिएको बताइएको छ । आफूलाई प्रहरीबाट चेतावनी भएको भन्दै कुरयिर संचालकले साथीभाइलाई सहयोगको आग्रह गर्दै आएका छन् । डीएसपी केसी र शाहीले भने आफूहरुले घुस नलिएको दाबी गर्दै आएका छन् ।

शाहीको असुली धन्दा

घुमुवा नाइके शाहीले प्रहरी प्रमुख र अन्य अधिकृतलाई गुमराहमा राखेर निरन्तर असुली धन्दा चलाउँदै आएका छन् । तर, उनलाई कारबाही हुन सकेको छैन । शाहीको दरबन्दी जुम्लामा छ । तर, उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका घुुमुुवा इन्चार्ज छन् ।

उनलाई अपराध तथा चोरी तस्करीको पूर्वसूचना लिएर नियन्त्रण गर्न सहयोग पुुगोस् भन्ने हेतुुले सादा पोशाकमा खटाइएको हो । तर, उनको ध्यान भने चोरी तस्करी गराएर असुलीधन्दामा केन्द्रित छ । उनले जिल्लाका सबै नाकाबाट मिलेमतोमा तस्करी गराउँदै आएका छन् । तस्करीबाटै उनले मासिक लाखौं असुल्दै आएका छन् । यसबारे प्रहरी अधिकृतहरूलाई जानकारी भए पनि उनलाई कारबाही हुन सकेको छैन ।

प्रकाशित मिति:August 16, 2022