नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

  Sampatti News Online

August 21, 2022

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति निधन भएकौ छ ।

गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्रांगणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने छ । ११ः३० देखि दिउँसो २ बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति:August 21, 2022