September 22, 2022
काठमाडौँ । धनुषाको मिथिला विहारी नगरपालिकाले दर्जन कर्मचारीलाई फिर्ता पठाएका छन् ।
मन्त्रालयले चालु आर्थिक वर्षदेखि सशर्त अनुदान पठाउन बन्द गरेको र नगरपालिकाको आन्तरिक आयस्रोत न्यून भएकाले स्वीकृत दरबन्दी भन्दा फाजिलमा रहेका ११ स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फिर्ता पठाएको हो ।
‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ देखी सशर्त अनुदान पठाउन बन्द गरेको र नगरपालिकाको आय स्रोत न्यून भएकाले दरबन्दी भन्दा फाजिल कर्मचारीको तलब भत्ता दिन नसकिने भएकाले नगर कार्यपालिकाको २०७९ भदौ २४ गतेको निर्णयअनुसार आजकै मिति -२०७९ असोज -६ गते बाट लागु हुने गरी कर्मचारी फिर्ता पठाएको जानकारी गराइन्छ’, मन्त्रालयलाई बोधार्थ गरिएको पत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाले सिनीयर अहेव (छैटौँ) वीरेन्द्र नायक र शङ्कर मण्डल, सिनीयर अहेव (पाँचौँ)ओमप्रकाश यादव, राजेन्द्र कुमार शाह हेल्थ असिस्टेन्ट (पाँचौँ) लाई फिर्ता पठाएको हो ।
यस्तै अहेव (चौथो) संजित कुमार यादव, रामशोभारभ मण्डल, राम शङ्कर मण्डल, धिरेन्द्र यादव, वीरेन्द्र कुमार झा, प्रदीप कुमार साह र अमृत कुमार पासमानलाई पनि नगरपालिकाले फिर्ता पठाइएको छ ।
स्वास्थ्य सेवामा उहिल्यै देखिको गोलमाल छ, त्यसैमाथि समायोजनको समस्या अहिलेसम्म पनि समाधान गर्न नसक्दा कर्मचारीले त सास्ती पाएका छन् नै सेवा प्रवाहमासमेत नकारात्मक असर पर्दै गएको छ ।
प्रकाशित मिति:September 22, 2022