देउवालाई शेखर समूहको चेतावनी

  Sampatti News Online

September 25, 2022

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ। राजधानीमा शनिबार खबरदारी सभा गर्दै त्यस पक्षका नेताहरूले यस्तो चेतावनी दिएका हुन्।

कार्यक्रममा बोल्दै नेता जगदिश्वर नरसिंह केसीले गठबन्धनका पाँच दल मिलाउन निरन्तर छलफल गर्नसक्ने सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेट पनि छलफल नगरेको बताए। सभापतिमा निर्वाचित भएपछि गुटको नभई सबैको नेता हुने बताए पनि देउवा त्यसभन्दा माथि उठ्न नसकेको उनले बताए।

‘गठबन्धनका नेता रिझाउन १८ घण्टासम्म छलफल गर्ने हाम्रा सभापतिले हामीलाई १८ मिनेट पनि समय दिनुभएको छैन। उहाँ गुटभन्दा माथि उठ्न सक्नुभएन। समानुपातिकको सूची नसच्चिए हामी विद्रोह गर्छौं,’ उनले भने।

कार्यक्रममा बोल्दै नेता गुरूराज घिमिरेले पार्टीभित्रको अन्याय सच्याउन विनम्रतापूर्वक गरिएको खबरदारीको सुनुवाइ नभए विद्रोह हुने चेतावनी दिए।

‘नेपाली कांग्रेसभित्र अहिले समान्तवाद मौलाएको छ। एकलौटी रूपमा टिकट दिएर सबैलाई जिताउने तागत छ भने दिए हुन्छ। होइन भने सबैलाई न्याय गर्नुस्। हामी विनम्रतापूर्वक आग्रह गरिरहेका छौं। सुनुवाइ नभए विद्रोह गर्छौं,’ उनले भने।

यस्तै नेता अजय द्विवेदीले पार्टीले सभापतिले बहुमतको बलमा अन्याय गरेको आरोप लगाए।

‘जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ। विभेद र अन्याय स्वीकार्य छैन,’ उनले भने।

त्यस समूहका नेता भरत खड्काले भने आफ्नै समूहको कमजोरीका कारण पनि अन्याय भएको बताए। टिकट वितरणको समूहमा चित्त नबुझेको भए केन्द्रीय समितिमा नोट अफ डिसेन्ट लेख्नुपर्ने उनको भनाइ थियो।

‘हाम्रै पक्षबाट पनि कमजोरी भएका छन्। केन्द्रीय समितिमा नोट अफ डिसेन्ट किन लेखिएन? यो लोकतन्त्र हो। चित्त नबुझेको विषयमा कमिटीमा विरोध गर्न पाइन्छ हामीले त्यहाँ कमजोरी गर्‍यौं,’ उनले भने।

खबरदारी सभामा बोल्दै नेता शोभा अधिकारीले सभापतिको एकलौटी राज पार्टीमा नचल्ने बताइन्। सबैलाई न्याय गर्नु र पार्टीलाई एकतावद्ध बनाउने दायित्व सभापतिको रहेको उनको भनाइ थियो।

त्यस समूहले आफूहरूले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा न्यायोचित रूपमा टिकट पाउनुपर्ने बताएका छन्।

‘पहिले देउवाले ४० प्रतिशत पाउने अहिले हामीले नपाउने भन्ने हुँदैन,’ नेता मनोजमणि आचार्यले भने।

टिकट वितरणमा दबाब दिन समूहले बालुवाटार घेराउदेखि रिले अनसनसम्मको तयारी गरेको छ।


प्रकाशित मिति:September 25, 2022