समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाउने आज अन्तिम दिन

Nepal Cover
१६ आश्विन २०७९, आईतवार
image

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ। निर्वाचन कार्यतालिका अन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए। समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले संशोधित बन्दसूची बुझाइसकेका छन्। बाँकी १२ दललाई आजसम्ममा संशोधित बन्दसूची बुझाउन आयोगले पत्राचार गरेको छ।

हिजो नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले संशोधित सूची बुझाइसकेका छन्। संशोधित सूचीमा नाम परेका उम्मेदवारहरुले नाम फिर्ता लिन चाहेमा भोलि असोज १७ गते बिहान १० देखि १२ बजेसम्म निवेदन दिने र भोलि नै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यसूची छ।

यस्तै असोज २० देखि २२ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सम्बन्धित समूहको अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यतालिका छ। असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका छन्।