नेपाली कांग्रेस ८९ क्षेत्रबाट चुनाव लड्दै

  Sampatti News Online

October 10, 2022

काठमाडौँ । सत्तारुढ गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ८९ क्षेत्रमा उम्मेदवारी दिएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसले प्रतिनिधिसभाका ८९ सिटमा उम्मेदवारी दिएको हो । कांग्रेसबाहेक सत्तागठबन्धनमा आबद्ध माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाले ७६ सिटमा आफ्नो उम्मेदवार उठाएका छन् ।

गठबन्धनभित्र सामेल दलहरूको लामो कसरतपछि आइतबार बिहानसम्म लगाएर सिट बाँडफाँटको टुंगो लगाइएको हो । जसअनुसार कांग्रेसले प्रदेश १ मा १९, मधेसमा १५, बागमतीमा १८, गण्डकीमा १०, लुम्बिनीमा १४, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशका ९ निर्वाचन क्षेत्रबाट मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार उठाएको हो । त्यस्तै, नेकपा माओवादीले ४७ मा, नेकपा एकीकृत समाजवादीले १९ र लोसपाले ८ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएको छ भने राजमोले २ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

गठबन्धभित्रका दलहरूले आफ्नो उम्मेदवार नभएको क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई सहयोग गरेर चुनाव जिताउन लाग्ने जनाएका छन् । सत्ता गठबन्धधमा आबद्ध दलका नेताहरूले नेकपा एमालेलाई चुनाव हराएर संविधानको रक्षा, स्थायी शान्ति, समृद्धि र विकासको बाटोमा देशलाई लेजान गठबन्धन गरेको प्रतिक्रिया दिएका थिए ।

कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ८९ निर्वाचन क्षेत्रमा सघाउने र ७६ क्षेत्रमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई कांग्रेसले सघाउने सहमतिअनुसार सिट बाँडफाँट गरिएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

प्रकाशित मिति:October 10, 2022