दाहाललाई तत्काल गिरफ्तार गर्नुपर्ने माग

  Sampatti News Online

November 4, 2022

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई तत्काल गिरफ्तार गर्नुपर्ने माग सहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता भएको छ।

माओवादी द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरण (रामेछाप) र पूर्णप्रसाद पौडेल (सुर्खेत)ले कात्तिक ९ गते मानव अधिकार आयोगमा निवेदन दिएका हुन्।

निवेदनमा दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट घाइते, अंगभंग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका, विस्थापित लगायतका पीडितको जिम्मा दाहालले लिनुपर्ने उल्लेख छ।

पाँच हजार मान्छे मारेको हुँ भन्दा भन्दै दाहालमाथि कानूनी कारवाही नहुनु विडम्बना भएको निवेदकहरूको धारणा छ।

“२०७६ माग १ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा राजधानीको खुलामञ्चमा आयोजित थारूहरूको माघी पर्वको कायक्रममा द्वन्द्वकालमा हत्या गरिएका पाँच हजार व्यक्ति हत्या स्वीकार गरेकोले निजलाई तत्काल गिरफ्तार गराउन आवश्यक अनुसन्धान एवम कानून बमोजिम कारबाही गरी पाऊँनका लागि आवश्यक पहल गरी दिनु हुन” निवेदनमा भनिएको छ,

“साथै द्वन्द्व को नाममा द्वन्द्वरत पक्षबाट घाइते, अंगभंग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसा मा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका,विस्थापित लगायतका पीडितको जिम्मा पनि प्रचण्डले नैं लिनु पर्छ यतातर्फ यस आयोगले आवश्यक पहल गरोस् भन्ने हाम्रो अनुरोध छ।”

तिहारका कारण सार्वजनिक बिदा भएकाले इमेलमार्फत निवेदन दर्ता गरिएको निवेदक मध्येका एक ज्ञानेन्द्रराज आरणले जानकारी दिए।

“आयोगका सरहरूले बिदाका बेला इमेलमार्फत पठाउन मिल्छ भन्नु भएपछि इमेलबाटै निवेदन दर्ता गरायौं।” आरणले भने, “आयोगले हाम्रो निवेदनमाथि आवश्यक कारवाही गर्छ भन्नेमा विश्वस्त छौं।”

आयोगका एक उच्च अधिकारीले निवेदन दर्ता भइसकेको जानकारी दिए।

२०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष दाहालले आफूले पाँच हजार मान्छे मारेको जिम्मा लिने बताएका थिए। उनको भनाइ थियो, ‘मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ तर यो सत्य होइन। सत्य के हो भने हिजोको सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन, मलाई ५ हजार मान्छे मारेको जिम्मा दिनुहुन्छ भने म लिन्छु।’

प्रकाशित मिति:November 4, 2022