चुनाबको सुरक्षा केन्द्रित प्रधान सेनापती,सचिब सहितको मधेस भ्रमण

  Sampatti News Online

November 4, 2022

काठमाडौँ। प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायत सुरक्षा निकाय प्रमुखहरूले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ को सुरक्षा अवस्थाबारे निरीक्षण भ्रमण गरेका छन् ।

रक्षा सचिव किरणराज शर्मा, गृह सचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको सहभागिता रहेको उक्त निरीक्षण भ्रमणको दौरान बर्दिबासस्थित मध्य पूर्वी पृतना हेड क्वाटर तथा बारा जिल्ला, जितपुरस्थित श्री नं. २८ बाहिनी अड्डा को निरीक्षण भ्रमण गरिएको छ ।

सो क्रममा प्रधान सेनापति शर्माले पृतना हेड क्वाटरको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वय लगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजना तथा बाहिनी अड्डाको वस्तुस्थितिका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका थिए ।

निर्वाचन-२०७९ को सुरक्षार्थ सर्लाही जिल्लास्थित धनकौल इलाकामा स्थापना गरेको कम्पनी अपरेटिङ बेस(सीओबी) को निरीक्षण गर्नुको साथै उक्त इलाकाको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिइएको थियो ।
सोही क्रममा प्रधान सेनापति महारथी शर्माले उक्त सीओबीमा तैनाथ सकल दर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका थिए ।

भ्रमण टोलीले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा उक्त जिल्लाहरूका सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।

प्रकाशित मिति:November 4, 2022