राष्ट्रपति भण्डारी छोरीलाई लिएर विदेश प्रस्थान

  Sampatti News Online

November 8, 2022

काठमाडौं । मुलुकले नयाँ राष्ट्रपति पाउन करीव २ महिना बाँकी रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी विदेश भ्रमणमा गएकी छिन् ।

सोमबार भण्डारी आइसल्याण्डको भ्रमणका लागि निस्किएकी हुन् । उनी ६ दिने आइसल्याण्डमा विताउनेछिन् ।

भण्डारीको विदाइमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । चुनावी प्रचारमा डडेल्धुरामा रहेका कारण देउवा भण्डारीको विदाइमा अनुपस्थित भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भण्डारीलाई उप–राष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदाई गरेका छन् ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन भण्डारी आइसल्याण्ड गएकी छिन् ।

भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने जनाइएको छ । भ्रमणमा गएकी भण्डारीले छोरी उषाकिरण भण्डारीलाई पनि लगेकी छिन् । मन्त्रालयका सचिव भरतराज पौड्याललगायतको टोली गएको छ ।

मंसिर ४ गते निर्वाचन हुन लागेको छ । त्यसपछि आउने नयाँ सरकारले राष्ट्रपति पनि फेर्नेछ । जसको बहुमत पुग्छ उसैले राष्ट्रपति पाउनेछ । भण्डारीलाई मंसिर ४ पछि आउने संसदले राष्ट्रपति पुनः बनाउने सम्भाना निकै कम छ । उप–राष्ट्रपति, सभामुख, उप–सभामुखलगायतका पदहरूमा पनि सहमति वा निर्वाचन हुनेछ ।

प्रकाशित मिति:November 8, 2022