राजकिशोर र चित्रलेखाको यस्तो छ । सिरहा– २ मा

  Sampatti News Online

November 8, 2022

लहान । सिरहा– २ मा नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता राजकिशोर यादव प्रतिस्पर्धामा उत्रिएका छन् ।

उनीहरूले मंसिर ४ गते जित्ने दाबी गरिरहेका छन् । राजकिशोरलाई एमालेको समर्थन छ । चित्रलेखालाई सत्तागठबन्धन दलको समर्थन छ ।

सिरहा–२ मा स्थानीय तहको निर्वाचनको नतिजा हेर्ने होभने जसपा र एमाले अगाडि छन् । त्यसपछि सत्तागठबन्धनको मत रहेको छ ।

स्थानीय तहमा जसपा र एमालेको सबै मत पाउने होभने राजकिशोरको जित सनिश्चित छ ।

सत्तागठबन्धनसहित जसपा र एमालेको मत तान्न सक्ने होभने चित्रलेखाले जित्ने सम्भावना पनि उत्तिकै छ ।

मंसिर ४ गते चित्रलेखा र राजकिशोरमध्ये कसको भाग्य खुल्छ हेर्न बाँकी छ ।

राकिशोर यादव निकै सरल र सहज मानिन्छन् । आफ्नो क्षेत्रका नेता कार्यकर्ता होस् वा सर्वसाधारण जसलाई पनि परेको बेला सहयोग गर्न पुग्छन् । जसपाभित्र बौद्धिक नेताका रुपमा राजकिशोरलाई लिइन्छ । जसपालाई बचाउन राजकिशोरको ठूलो भूमिका र योगदान छ ।

राजकिशोरले कहिल्यै पनि जातीय र साम्प्रदायिक कुरा गरेनन् । जातीय र साम्प्रदायिक कुरा गर्दा द्वन्द्व हुने र त्यसले जनता र देशलाई नोक्सानी हुने राजकिशोरले बताउँदै आएका छन् ।

राजकिशोरले धमिलो पानीमा माछामार्न चाहेको भए धेरै नै गर्न सक्थे । तर, व्यक्तिवादी चरित्र र अवसरलाई कहिल्यै पनि देखाएनन् ।

उता, कांग्रेस नेतृ चित्रलेखा धेरै अवसर लिने नेतृमा पर्छिन् । प्रतिनिधि सभामा कांग्रेसबाट सचेतक समेत बिनन् । लाभका पदमा धेरै नै अवसर पाउने नेतृमा पर्छिन् ।

चित्रलेखाले आफ्नै बुहारीलाई हिंसा गरेको आरोप पनि खेप्नु परेको थियो ।

चित्रलेखालाई कांग्रेसले उम्मेदवार बनाए पनि सत्तागठबन्धन दलहरूको साथ छ । दुई पटक समानुपातिक सांसद बनेर चित्रलेखाले अवसर पाएकी छिन् । उप–उपसभामुख, सांसद र मन्त्री बनेपछि सिरहामा चित्रलेखाले गरेका कामको हिसाब किताबको खोजी हुन थालेको छ ।

सिरहा–२ मा वरियारपट्टी, नवराजपुर, औरही, सुखीपुर र धनगढी नगरपालिकासहित पाँचवटा पालिका छन् । कांग्रेसले वरियारपट्टी र धनगढी नगरपालिका जितेको छ ।

नवरापुर र औरही गाउँपालिका जसपा र सुखीपुर नगरपालिका एमालेले जितेको छ ।

यो क्षेत्रमा जम्मा ४१ वटा वडा छन् । त्यसमध्ये जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनले २०–२० वटा वडा जितेका छन् । जनमत पार्टीले एउटा वडा जितेको छ । जसपाले मात्र वडामा २१ हजार ९७ मत ल्याएको छ ।

एमालेले १८ हजार ३५८ मत ल्याएको छ । दुवै दलको मत जोड्दा ३९ हजार ४५५ हुन्छ ।

कांग्रेसले १९ हजार ४७४, माओवादी केन्द्रले ११ हजार ६५८, नेकपा एकीकृत समाजवादी पार्टीले तीन हजार ९२३ र लोकतान्त्रिक समाजवादी पार्टीले ९ सय ७९ मत ल्याएका छन् ।

यी सबै दलको मत जोड्दा ३६ हजार ३४ हुन्छ । सत्ता गठबन्धन भन्दा जसपा–एमाले गठबन्धनको मत तीन हजार ४२१ ले बढी छ ।

प्रकाशित मिति:November 8, 2022