मुलुकको भविष्य बनाउन एमालेको सरकारबाट मात्रै सम्भव-ओली

  Sampatti News Online

November 8, 2022

स्याङ्जा। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको भविष्य बनाउन, देशको रक्षा, ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको सरकारबाट मात्रै सम्भव रहेकाले मंसिर ४ पछि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।

स्याङ्जा सदरमुकामस्थित टुँडिखेलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ । “देशको भविष्य उज्यालोतर्फ लैजाने कि अँध्यारोतर्फ भन्ने फैसला गर्ने दिन मंसिर ४ गते हो”, उहाँले भन्नुभयो, “देशलाई उज्यालोतर्फ लैजाने नै हो भने नेकपा एमालेलाई विजयी गराउन मतदातालाई अनुरोध छ ।

चुनावीसभामा एमाले केन्द्रीय सचिव एवं स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पद्माकुमारी अर्यालले मंसिर ४ को निर्वाचनले देशलाई कता लैजाने भन्ने छिनोफानो गर्ने दिन भएको बताउनुभयो । एमाले सरकारमा हुँदा विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढेकाले एमालेलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

स्याङ्जा क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद मरासिनीले आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाबाट नेपाली जनताको भाग्य बदल्ने महायज्ञमा होमिएको बताउनुभयो । उहाँले जनतालाई सुखी र समृद्धिका लागि पनि अब एमालेको सरकार आवश्यक रहेको बताउनुभयो । क्षेत्र नं १ (१) का प्रदेश उम्मेदवार सीता सुन्दासले मंसिर ४ पछि केन्द्रीय सरकार र प्रदेश सरकार एमालेकै बन्ने दाबी गर्नुभयो । गाउँगाउँमा जाँदा त्यहाँका जनताले नेकपा एमालेको एकल बहुमतको सरकार बन्नुपर्छ एमालेको सरकारको विकल्प नरहेको उहाँको भनाइ थियो ।

स्याङ्जा क्षेत्र नं १ (२) का उम्मेदवार सुधीरकुमार पौडेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले रहेको बताउँदै यस अभियानलाई पूरा गर्नका लागि फेरि एकपटक एमालेलाई केन्द्र र प्रदेशमा विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभामा गण्डकी प्रदेशका लागि स्याङ्जा २ (१) का उम्मेदवार मोहनप्रसाद रेग्मीले गण्डकी प्रदेश सरकारले तत्कालीन समयमा बनाएका योजना गठबन्धन सरकार आएसँगै कटौती गरेको आरोप लगाउनुभयो । जनतालाई आर्थिक समृद्धिसँग जोड्न र मुहार परिवर्तन गर्नका लागि आफू लागिपरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका लागि स्याङ्जा क्षेत्र नं २ (२) का उम्मेदवार बुद्धिमान श्रेष्ठले कालीगण्डकी बेँसीका रुपमा सांस्कृतिक महत्व र सभ्यतासँग जोडिएको कालीगण्डकी नदीलाई डाईभर्सन गर्न नदिने बताउनुभयो । स्वास्थ्य, खानेपानी, सडक, शिक्षामा सर्वसाधारणको पहुँच स्थापना गर्नका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गर्नुभयो ।

प्रकाशित मिति:November 8, 2022