प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिए यस्तो निर्देशन

  Sampatti News Online

November 10, 2022

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूका वारिस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिएका छन् । अशक्तताहरूको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारिस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उनले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका हुन् ।

उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारिस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताए । गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्न सक्ने मतदाताहरूले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन उनले आग्रह गरे ।

कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरुमार्फत् मतदान गराउने किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने चेतावनी दिए ।

प्रकाशित मिति:November 10, 2022