सरकारलाई राजस्वको लक्ष्य भेट्टाउन मुस्किल

  Sampatti News Online

November 17, 2022

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को कात्तिक महिनामा लक्ष्यको ८०.८९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । विभागले गत असोज महिनामा लक्ष्यको ९३.८२ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो ।

विभागले चालु आवको यस अवधिमा २९ अर्ब ५ करोड ७८ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ९३।८२ प्रतिशत मात्रै हो । विभागले यस अवधिमा ३५ अर्ब ९२ करोड ३८ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

यस अवधिमा विभागले आयकर शीर्षकबाट ९ अर्ब ८१ करोड ६८ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ७ अर्ब ४२ करोड ४२ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्य अनुसार ७५.६३ प्रतिशत मात्र राजस्व संकलन भएको हो ।

त्यस्तै, विभागले घरबहाल कर शीर्षकबाट १४ करोड ४६ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १२ करोड ३६ लाख ३३ हजार रुपैयाँ, ब्याजबाट ६ अर्ब ४६ करोड १८ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ५ अर्ब १५ करोड ९४ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

विभागले यस अवधिमा भ्याटबाट १० अर्ब ८० करोड २५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसबाट ७ अर्ब ४४ करोड ४९ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस अवधिमा विभागले अन्तशुल्क शीर्षकबाट लक्ष्य भन्दा १०३.१४ प्रतिशत बढि राजस्व संकलन गरेको छ । विभागले अन्तशुल्क शीर्षकबाट ८ अर्ब १३ करोड ६५ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब ३९ करोड १७ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्याङकमा उल्लेख छ ।

यसैगरी विभागले स्वास्थ्य सेवा शीर्षकबाट लक्ष्यको ९५.९० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले ४२ करोड ७५ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसबाट ४१ करोड १२ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । जबकी विभागले गत असोजमा लक्ष्यको झण्डै दोब्बर १५४.७४ प्रतिशत राजस्व संकलन गरेको थियो ।

विभागका अनुसार यसअवधिमा शिक्षा शीर्षकबाट पनि लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । विभागले शिक्षा शीर्षकबाट यस अवधिमा १३ करोड ३८ लाख ९३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसअनुसार शिक्षा शीर्षकबाट १० करोड ३८ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७७.६० प्रतिशत राजस्व संकलन भएको हो ।

त्यसैगरी, विभागले कात्तिक मसान्तसम्म लक्ष्यको ८८.४३ प्रतिशत राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले एक खर्ब ४१ अर्ब १५ करोड ३३ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब २४ अर्ब ८२ करोड २८ लाख ३ हजार रुपौयँ मात्र राजस्व संकलन गरेको हो । गत आवको सोही अवधिमा १ खर्ब २७ अर्ब ७३ करोड ५६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

विभागका अनुसार गत आवको तुलनामा आयकर, घरबहाल कर र भ्याटको राजस्व संकलनमा कमी आएको छ भने ब्याज, अन्तशुल्क, शिक्षा र स्वास्थ्य शीर्षककोबाट उठ्ने राजस्वमा भने वृद्धि भएको छ ।

प्रकाशित मिति:November 17, 2022