फाइभजी परिक्षण सुरु गर्दै नेपाल टेलिकम

  Sampatti News Online

December 12, 2022

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले नयाँ बर्ष २०२३ जनवरीदेखि काठमाडौं उपत्यकाबाट औपचारिक रुपमा पाचौं पुस्ताको फाइभजी परिक्षण सुरु गर्ने भएका छन् ।

खासगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परिक्षण अनुमति दिएको झन्दै दुई बर्षपछि फाइभजीको ट्रायल प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ्ले उनकै अध्यक्षतामा बसेको फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकले डेढ बर्ष अघि अनुमति दिएका थिए ।

अगामी पुस १७ गतेपछि सर्वसाधारणले नै प्रयोग गर्न पाउने गरी काठमाडौं उपत्यका भित्रबाट फाइभजी परिक्षण गर्ने तयारी छ । जसको लागि हाल उपकरण आपूर्तिकर्ताले धमाधम टेस्टिङको काम गरिरहेको छ ।

टेलिकमका अनुसार अहिले काठमाडौंको बबरमहल, माइतिघर, थापाथलीलगायतका स्थानमा अन्तिरिक परिक्षण भइरहेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले संघीय चुनावमा सेवा सुचारु राख्न कर्मचारी केन्द्रित भएका कारण फाइभजी रोलआउटमा ढिलाइ भएको जानकारी दिए ।

‘अन्तिरिक कारण ढिलाइ भएपनि टेलिकमले आगमी जनावरी १ देखि फाइभजीको ट्रायल औपचारिक रुपमा सुरु गर्ने योजना छ’ प्रवक्ता अधिकारीले भने ‘सुरुवात भएको कारण काठमाडौं उपत्यकाबाटै रोलआउट गर्ने तयारी छ।’

उनका अनुसार केहि प्रविधिक समस्या आएन भने काठमाडौं उपत्यका जनताले निःशुल्क फाइभजी परिक्षण गर्न पाउने छ । टेलिकमलाई फाइभजी परिक्षणको लागि दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

उक्त फ्रिक्वेन्सीमा आधारित भएर फाइभजी सेवा परीक्षण सुरु गर्ने भएको हो । यसका लागि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गरी टेलिकमलाई उपलब्ध गराइसकेको छ, जसमा टेलिकमले २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।

यस अघि नेपाल टेलिकमले फाइभजी परीक्षणको व्यवसायिक प्रस्ताव अनुसार २६०० मेगाहर्ज ब्याण्डमा १०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग गरेको थियो । तर, नियमले भने ६० मेगाहर्ज मात्रै फ्रिक्वेन्सी टेलिकमलाई उपलब्ध गराएको छ ।

प्रवक्ता अधिकारीले भने ‘काठमाडौंमा फाइभजीको औपचारिक परिक्षणपछि टेलिकमले सातै प्रदेशका मुख्य सहरहरुमा परिक्षण गर्ने छ ।’ हाल परिक्षण गर्ने स्थानमा नेपाल टेलिकमले उपकरण टेस्टिङको काम गरिरहेको छ ।

यता नेपाल टेलिकमले फाइभजीको परिक्षणको मिति घोषणा गर्दै गर्दा निजी क्षेत्रको एनसेललाई भने उपेक्षा गरेको छ ।

करिब एक बर्ष अघि नै फाइभजी परिक्षणको लागी नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको थियो । प्राधिकरणले सञ्चार मन्त्री अध्यक्षता गर्ने फ्रिक्वेन्सी नीति निर्धारण समितिमा एनसेलको निवेदन पठाए पनि हालसम्म सो समितिको बैठक नै बस्न पाएको छैन ।

सञ्चारमन्त्रीकै बेवास्ताको कारण अहिले एनसेलले फाइभजी परिक्षणको प्रक्रिया अन्योलनमा छ । नेपाल टेलिकमले देशैभर फाइभजी परिक्षणको तयारी गरिरहदा सरोकारवाला भने फाइभजीको लागी बजार अझै तयार भइनसकेको बताउँदै आएका छन् ।

प्रकाशित मिति:December 12, 2022