ब्याजदर बढ्नु स्वभाविक हो: गभर्नर

  Sampatti News Online

December 14, 2022

काठमाडौं । नपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा ब्याजदर बढ्नु स्वभाविक रहेको बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३ औँ वार्षिक साधारण सभा एवम् छैठौँ महासभामा बोल्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, ‘तरलताको समस्या सधैँ रहँदैन । र, सधैँ सहजता पनि हुँदैन । तरलता अभावका कारण ब्याजदर बढेको हो । अहिलेको अवस्थामा ब्याजदर बढ्नु स्वभाविक हो ।’  साथै उनले तरलताको समस्या सहज हुँदै गएपछि ब्याजदर पनि घट्ने आश्वासन दिए । 

हिजोको विकृतिमा कारण अहिले अर्थतन्त्रमा समस्या आएको हो । भोलिको दिनमा समस्या नआओस् भनेर राष्ट्र बैंकले कसिलो नीति ल्याएको हो । आगामी दिनको सहजताका लागि नेपाल राष्ट्र बैंकले काम गरिरहेको छ’, गभर्नर अधिकारीले भने । 

त्यस्तै, उनले मूल्यवृद्धि बढ्दै गएकोले यसको असर प्रत्येक नेपालीको चुलोमा परेको समेत बताए । साथै उनले अर्थतन्त्रलाई सन्तुलनमा राख्नका लागि राष्ट्र बैंकले कसिलो नीति ल्याएको दोहोर्‍याए । 

उनका अनुसार विश्वकै अर्थतन्त्रमा चाप परेकाले नेपालले पनि त्यसको असर परेको छ । बजारमा ऋण लगेर फिर्ता नआउँदा तरलतामा चाप परेको छ । पछिल्लो समय बजारमा तरलता केही सहज भएको भए पनि आगामी पुस महिना अझै केही चुनौती रहेको उनले बताए । पुसमा सरकारले राष्ट्र ऋण उठाउने र पुनःकर्जालगायतको असर देखिने गभर्नर अधिकारीको भनाइ छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले तरलता अभावलगायत कारणबाट निजी क्षेत्र समस्यामा परेको भए पनि यो समस्या सधैँ नरहने बताए । उनले भने, ‘बजारमा आइरहेका समस्याबाट निजी क्षेत्र प्रताडित भएको छ । यसलाई हामीले सहनै पर्छ । तर अब विस्तारै तरलता अभावलगायतका समस्या कम हुँदै जान्छन् ।’

अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि राज्यले हस्तक्षेप गर्नुपर्ने भन्ने निजी क्षेत्रको चाहनाबारे गम्भीर भएर सोच्नुपर्ने पनि उनले बताए । गभर्नर अधिकारीले भने, ‘राज्यको प्रत्यक्ष हस्तक्षेप होस् भन्ने निजी क्षेत्रको चाहना छ । तर, त्यो कति काउन्टर प्रोडक्टिभ होला त्यसबारे सोच्न जरुरी छ । एउटा क्षेत्र सुधार्न खोज्यो अर्को क्षेत्रमा सन्तुलन बिग्रन्छ । त्यसकारण सबैकुरा एकैपटक सुधार गर्न सकिन्न ।

प्रकाशित मिति:December 14, 2022