मेयर र कार्यपालिका सदस्यबीचको विवादले ३ वटाै बैठक प्रभावित

  Sampatti News Online

December 15, 2022

स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङले कार्यपालिका सदस्यलाई बोल्न रोकेको र बाहिर जानुस् भनेर अपमान गरेको विषयले लगातार ३ वटा बैठक प्रभावित भएका छन्। बिहीबार (आज) बिहान ८ बजे कार्यपालिका बैठक बोलाइए पनि यही विषयले बैठक हुन सकेन। लगातार ३ पटक बैठक बस्न नसक्दा महत्त्वपूर्ण निर्णयहरू रोकिएका छन् ।
कार्यपालिका सदस्यहरूले मेयरले अपमान गरेकोले माफी माग्नुपर्ने माग राख्दै बैठक बहिष्कार गर्दै आएका छन्। मेयर साम्पाङले भने आफूले माफी माग्नुपर्ने गरी नबोलेको अडान राख्दै आएका छन्। दुवै पक्षको यही हठले प्रत्येक महिना कम्तीमा एउटा बैठक बस्नुपर्ने भएपनि प्रभावित भइरहेको छ।

बिहीबार बिहान प्रतिनिधिमूलक तरिकाले ४ जना वडा अध्यक्षहरू मात्र बैठकमा आएका थिए। राजनीतिक दलको प्रतिनिधि हुने गरी बैठकमा वडा नं १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई ९मनोज०, वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार राई ९प्रविण० र वडा नं ६ का भूपेन्द्र भट्टराई मात्र आए। वडा ६ का अध्यक्ष स्वतन्त्रबाट निर्वाचित हुन् भने वडा १७ माओवादी, वडा १८ काँग्रेस र वडा १५ एमालेबाट निर्वाचित हुन्। दलबाट निर्वाचित उनीहरूलाई पार्टीले संसदीय दलको नेता पनि बनाएको छ।

बैठकमा सहभागी वडा १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता भट्टराईले मेयर साम्पाङले बोल्न नदिएर र बाहिर जानुस् भनेर कार्यपालिका सदस्यको अपमान तथा अमानवीय व्यवहार भएकोले माफी माग्नुपर्ने अडान राखे। उनले नगरलाई अनिर्णयको बन्दी बनाउने, तोकआदेशबाट नगर चलाउँछु भन्ने, विधिबाहिर गएर फेसबुकबाट नै निर्णय र धारणा आउने गरेको भन्दै मेयर साम्पाङ जबाफदेही नभएसम्म र माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरू बैठकमा सहभागी नहुने बताए।

मेयर साम्पाङले भने आफूले काम, कर्तव्य भित्र रहेर अघि बढिरहेको दाबी गर्दै माफी माग्ने गरी केही नबोलेको जिकिर गरे भने माफी नमाग्ने अडान पनि राखेका छन् ।

उपमेयर बेघाले पुरानै कुरा लिएर कार्यपालिका सदस्य र मेयरबीचको द्वन्द्व रहिरहेमा धरान अनिर्णयको बन्दी हुने भन्दै चिन्ता व्यक्त गरे। उनले समन्वयात्मक ढङ्गले एक-अर्कामा संवाद गरेर निकास निकाल्न पनि आग्रह गरे।

कार्यपालिका बैठक नबस्दा शिक्षकहरूको तलब, स्वास्थ्यकर्मीहरूको तलब, करार कर्मचारीहरूको दैनिक भत्ता रोकिएको छ भने प्रत्येक महिना एक पटक बस्नुपर्ने बैठक नबस्दा मूल्याङ्कनको अङ्क पनि घटिरहेको उपमेयर बेघाले बताए।

प्रकाशित मिति:December 15, 2022