राणाले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराए

  Sampatti News Online

December 22, 2022

काठमाडाै‌ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरूलाई शपथ गराएका हुन्।

शपथ लिन नवनिर्वाचित सांसदहरू राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए। संसद् सचिवालयका अनुसार २६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

शपथअघि ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाएका बैठकमा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शपथग्रहणको प्रक्रियाबारे जानकारी गराएका थिए।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ७५ सांसद छन्। शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा. गौतमले नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति:December 22, 2022