वीरगन्जमा बालकको हत्या

  Sampatti News Online

December 25, 2022

वीरगन्ज :  वीरगन्ज महानगरपालिका-२५ सिर्सिया खल्वा टोलका श्रीमान् पासवानका १५ वर्षीय छोरा निरज पासवानको शव खल्वा टोलमै रहेको गुरुकुल पन्ना बोर्डिंग स्कुलको शौचालयको सेप्टी  ट्यांकीमा फेला परेको हो। 

वीरगन्जको मीना बजारमा मासु पसल सञ्चालन गर्दै आएका रुमान् पासवानका छोरा निरज गत मंसिर ५ गते सम्पर्कविहीन भएका थिए। मंसिर ६ गते अभिभावकले वडा प्रहरी कार्यालय विर्तामा निरजको खोजतलासका लागि निवेदन दिएका थिए। 

त्यसको चार पाँच दिनपछि अपरिचित व्याक्तिहरूले बुबा श्रीमान् पासवानलाई मोबाइलमा फोन गरेर ५० लाख रुपैयाँ फिरौती माग गरेपछि निरज अपहरणमा परेको खुलासा भएको थियो। 

त्यसपछि निरजका बुबा श्रीमान् पासवानले आफनो छोरा अपहरणमा परेको र अपहरणकारीले ५० लाख फिरौती मागेको प्रहरीकोमा जानकारी गराएका थिए। 

प्रहरीले निरजको खोजतलाशका क्रममा अपहरणमा संलग्न रहेको आशंकामा एक हप्ता पहिले दुइ जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो। 

तीनै दुवै जनाले दिएको बयानका क्रममा आइतबार प्रहरीले विद्यालयको शौचालयको सेप्टी ट्यांकी भित्रबाट निरजको शव बरामद गरेको हो। 

प्रहरी हिरासतमा रहेका दुइ व्याक्तिको परिचय प्रहरीले नखुलाएपनि उनीहरू मध्ये पटेल थरका एक व्याक्ति र गुरुकुल पन्ना बोर्डिंग स्कुलका एक जना शिक्षकहरू रहेको श्रोतले जनाएको छ। 

आइतबार अपराह्न साढे ३ बजे प्रहरीको टोलीले विद्यालयको सेप्टी ट्यांकीमा उत्खनन् सुरु गरेको र साँझ ५.३० बजे निरजको शव, घाँटी र खुट्टा डोरीले बाँधेर फालिएको अवस्थामा सेप्टी ट्यांकीभित्र भेटिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए।

निरजको हत्या गरी शव सेप्टी ट्यांकी भित्र हालेर माथि माटो र बालुवाले पुरिएको अवस्थामा भेटिएको गिरिले बताए। 

प्रहरी नायब उपरीक्षक गिरिले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको र शंकास्पद अन्यको पनि प्रहरीले खोजी गरिरहेको बताए। 

प्रकाशित मिति:December 25, 2022