December 30, 2022
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनु कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरू गरेको आयोगले जनाएको छ ।
संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरु मतदाता रहने छन् । निर्वाचनमा संघीय संसद् ३३४ र प्रदेशसभाका सदस्य ५५० मतदाता हुनेछन् । मुलुकको विद्यमान जनसंख्या अनुसार यी पदको निर्वाचनका लागि संघीय संसद्का प्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ ।
बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ गते सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारीमा आयोग छ । संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभई फरक–फरक मितिमा निर्वाचन हुनेछ ।
संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।
आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन गत मंसिर २९ गते बुझाएको थियो । राष्ट्रपतिको आह्वानबमोजिम दुईभन्दा बढी दलको समर्थनमा पुस १० गते नयाँ सरकार गठन भइसकेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्याय परिषद्को परामर्शमा उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।
निर्वाचनमा उम्मेदवार हुन संघीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति:December 30, 2022
November 23, 2024