छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

  Sampatti News Online

January 1, 2023

काठमाडौं । हिजो (शनिबार) बिहान कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ बाट करिब दुई ग्राम ब्राउनसुगरसहित सोही नगरपालिका बस्ने २२ वर्षीय राजेश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले परियारमाथि शंका लागि जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो ।

त्यस्तै कैलाली, भजनी नगरपालिका–३ कुसुमघाटबाट खैरो हिरोईन जस्तो देखिने पदार्थसहित अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

४ सय ७० मिलिग्राम अवैध लागूऔषधसहित जानकी गाउँपालिका–२ खर्गुवार बस्ने २३ वर्षीय सुदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:January 1, 2023