सन्दीप मानसिक रूपमा कमजोर बनेपछि वरिष्ठ मनोविद्को परामर्श सुरु

  Sampatti News Online

January 2, 2023

काठमाडौँ । सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविद्को परामर्श सुरु गरिएको छ।

बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो।

सन्दीपलाई वरिष्ठ मनोविद् शुष्मा रेग्मीले सुनधारास्थित केन्द्रिय कारागारमा नै गएर आवश्यक परामर्श दिएकी थिइन्। सुनधारास्थित केन्द्रीय कारागारमा अन्य कैदी बन्दीसँगै सन्दीप पनि रहेका छन्।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘मानसिक रूपमा अलि डिप्रेसन देखिएकाले उनलाई सोमबारबाट मानसिक परामर्शमा राखेका हौँ।’ रेग्मीले पनि उनको अवस्था सामान्य नपाएको बताएको घिमिरेले जानकारी दिए। उनलाई आवश्यक परामर्श समय मिलाएर २,३ दिनमा दिइने जानकारी घिमिरेले दिए।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने ‘अन्य जघन्य अपराधमा संलग्न कैदी बन्दीहरूसँगै सन्दीप पनि रहेको छ। उनीहरूको सङ्गत र अनावश्यक कुराहरूले सन्दीप मानसिक रूपमा नै थकित देखिएको छ। त्यसैले उसलाई मानसिक रूपमा कमजोर हुन नदिन प्रयास गर्न लागेका हौँ।’

प्रकाशित मिति:January 2, 2023