काम प्रभावकारी बनाउन प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्ने

  Sampatti News Online

January 3, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको कामलाइ प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिने भएका हुन्। आज राष्ट्रपति, उपराष्ट्रपति, आयोगहरु, प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायहरुको प्रस्तुतीकरण हुँदैछ ।

यही पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डल सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए।

पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए।

विशेषगरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरूसँग छलफल गरेका हुन्।

केही सचिव र विभागका प्रमुखले आ-आफ्ना विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए।

मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न भन्दै प्रचण्डले सचिव बैठक बोलाएका हुन् ।

प्रकाशित मिति:January 3, 2023