शेयर बजारमा उच्च अंकको वृद्धि

  Sampatti News Online

January 4, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथौ दिन आज बुधबार उच्च अंकले बढेको छ । निरन्तर रुपमा बढेको शेयरबजारमा मंगलबार सामान्य गिरावट आएको थियो  ।

आज नेप्से ६४.८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलब ८४ विन्दुमा बन्द भएको हो । मंगलबार आज नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो  ।

यस दिन सेन्सेटिभ इण्डेक्स १४.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५८ स्टकको ५७ हजार ३१२ पटकको कारोबारमा ३ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको ८७ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से बढेसँगै यस दिन दुई दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त, कालिका पावर, आरएसडिसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, १६ स्टकको मूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन १५ स्टकको मूल्य घटेको छ। यद्यपि, यी सबै स्टकहरुको गिरावट दर २ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ५२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सानिमा माइ हाइड्रोपावर र नेपाल टेलिकमको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ। त्यसैगरी, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति:January 4, 2023