पासपोर्ट वितरण रोक्नुको भित्रि कारण

  Sampatti News Online

January 4, 2023

काठमाडौं। प्रधानमन्त्री बन्ने बित्तिकै प्रचण्डले आदेश दिए- तीन महिनाभित्र राहदानी र लाइसेन्सको लाइन हटाउनु । कतै प्रचण्डले पो जस लिने हुन् की भन्ने पीरले गृहमन्त्री रवि लामिछाने राहदानी विभाग तिर दौडिए, पासपोर्ट बाँडेको जस आफ्नो नाममा पार्न ।

सर्भरमा समस्या आएको भन्दै राहदानी विभागले पुस १७ गतेदेखि पासपोर्ट छपाई र वितरण नै बन्द गरेको छ । जसका कारण आवेदन फारम भरिसकेका १० हजार भन्दाबढि व्यक्तिहरुको हातमा पासपोर्ट कहिले पर्ने हो भन्ने अनश्चितता छाएको छ । 

बन्द गर्ने बहाना 
सर्भर सिस्टममा खराबीको बहानालाई राहदानी विभागले कारणको रुपमा प्रस्तुत गरेको छ । तर, सहज अनुमान लगाउन सकिन्छ की सर्भर बिग्रेको होइन, बिगारिएको हो । यस्तो आरोप लगाउने अरु पनि थप आधारहरु छन् । तर, यति बेलै किन बिगारियो भन्ने प्रश्नको जवाफ भने सटिक छ । 

गृहमन्त्री लामिछानले आफ्नो जिम्मेवारी क्षेत्र भन्दा बाहिर गएर राहदानी विभागका कर्मचारीहरुलाई  निर्देशन दिए । स्वभाविक रुपमा नेपालमा भएका अरु मन्त्रालय भन्दा आफुले काम गर्ने परराष्ट्र मन्त्रालय विशेष भएको घमण्ड पाल्दै आएका परराष्ट्रका कर्मचारीहरुको दम्भमा त्यसले ठेस पुर्यायो ।

त्यसमाथि सर्भर र सफ्टवेयरको अडिट गर्छु भनेर लामिछानेले गरेको घोषणा त आफैमा सहिसक्नुको हुने कुरै भएन । त्यसैले उनीहरुले सर्भर नै डाउन गरिदिए ।

लाइन लाग्नुको चुरो कुरो  
राहदानी विभागले सहज वितरण गर्न नसकेर पासपार्ट लिनेको लाइत त्यति लामो पारेको थिएन । विभागका एक कर्मचारीले भने, ‘यी भन्दा छिटै सेवा दिन नसकिने होइन । तर, हाम्रो बाध्यता नै बेग्लै छ ।’ उनका अनुसार विभागसँग पर्याप्त रुपमा पासपोर्टका कपी नै छैनन् । 

दैनिक रुपमा जति धेरै बाँड्यो त्यति छिटो सकिने भएपछि बाँड्न नै ढिला गरिएको उनले बताए । ‘पासपोर्ट नै छैन भन्न मिलेन, भएका बाँडिसकेर सेवा नै रोक्ने कुरा भएन’, उनले अगाडी थपे, ‘त्यसैले मिलाएर, पुर्याएर बाँडदै थियौ । लाइन अन्त्य गर्नु भन्ने प्रधानमन्त्रीको उर्दी आयो । हाम्रो पिर कसले बुझ्ने ।’

अझ गम्भिर कुरा त के रहेछ भने चाहेर पनि अहिले तुरुन्तै पासपोर्टका बुकहरु छाप्न सक्ने अवस्थामा विभाग छैन । रुस र युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा चिप्सको अभाव छ । तुरुन्तै आपूर्ति हुने सम्भावना देखिदैन । चिप्स बिनाको पासपोर्ट बाँड्ने कुरा भएन । 

नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमा नै अहिले पासपोर्टमा हाल्ने चिप्सको अभाव रहेको विभागका एक उपल्लो तहका कर्मचारीले जानकारी दिए ।

त्यसैले बाहिर जे जस्तो बहाना देखाइएपनि राहदानी वितरणको विषय नयाँ सरकार आएपछि अझ जटिल बनेको छ । सफ्टवेयर र सर्भरमा रहेको गडबढिबारे गृहमन्त्रीले थाहा पाउलान्की भन्ने चिन्ता विभागका मान्छेहरुमा छ । विदेशबाट चिप्स ल्याउन नसक्दा पासपोर्ट नै बाँड्न नसक्ने स्थितिमा पुगेर सरकार असफल सिद्ध हुने होकी भन्ने अर्काथरीलाई पिरलो छ । 

प्रकाशित मिति:January 4, 2023