नेपाली काँग्रेसका सभापति देउवाले किन बोलाए पदाधिकारी बैठक

  Sampatti News Online

January 6, 2023

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार अपराह्न साढे ४ बजे आफ्ना निजी निवास धुम्बाराहीमा बैठक बोलाएको काँग्रेसका एक पदाधिकारीले बताए । संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि देउवाले बैठक बोलाएको ती पदाधिकारीको भनाइ छ । 

यता माओवादी केन्द्रले बुधवार उपमहासचिव जनार्दन शर्मामार्फत विश्वासको मत दिन काँग्रेसलाई प्रस्ताव गरेको थियो ।  

राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औँल्याउँदै शर्माले सभापति देउवालाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी छ । काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने पक्षमा देखिएका छन् । प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पौडेलको जोड छ ।

उनले काँग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकलाई त्यसको माहौल निर्माण गर्न आग्रह गरेका थिए । बिहीबार साँझ महामन्त्री विश्वप्रकाश शर्माको निवासमा महामन्त्रीद्वय गगन थापा, शर्मा र मुख्य सचेतक लेखकबीच छलफल भएको थियो ।

प्रकाशित मिति:January 6, 2023