प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

  Sampatti News Online

January 8, 2023

काठमाडौं । प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार बसेको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत नदिने बताउनुभएको हो ।

‘हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ । प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ ।’संसद्को दोस्रो, तेस्रो दललगायतका पार्टीहरूको गठबन्धनको सरकार बन्दा विश्वासको मत दिने कुरा कांग्रेसमा छलफलको विषय नै नभएको उहाँको भनाइ छ ।

महामन्त्री थापाले कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन र निर्वाचनपछिको राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताउनुभयो । गठबन्धन गरेको देखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने उहाँको भनाइ छ । थापाले भन्नुभयो– ‘उक्त बैठकमा निर्वाचन र निर्वाचनपछिको राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रूपमा छलफल गर्नेछौं ।

तर, संसद्का सशक्त प्रतिपक्षको भूमिका खेल्ने कुरामा कांग्रेस एक ढिक्का छ ।’दाहाललाई विश्वासको मतमा असफल बनाएर नयाँ गठबन्धन बनाउन कांग्रेस लागेको भन्ने समाचार सार्वजनिक भएको बेला थापाले राजनीतिक दलका नेताहरूसँग सामान्य छलफल भएको तर त्यो सरकार गठनका लागि नभएको प्रष्ट पार्नुभयो । ‘अरू दलहरूका नेताहरू सभापतिसँग भेट्न उहाँहरू नै समय मागेर आउनुभएको हो’, थापाले भन्नुभयो, ‘शीर्ष नेताहरूको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरू पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो ।’ पार्टीको आन्तरिक छलफलका सन्दर्भमा उहाँले कांग्रेस अब नीति अधिवेधनमा अगाडि बढ्ने बताउनुभयो ।

कांग्रेससहितको पाँच दलीय गठबन्धन तोडेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँगको गठबन्धन गरी प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ मा विश्वासको मत लिँदै हुनुहुन्छ । यो अवस्थामा संघीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमासमेत बैठकमा छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

‘सिंगो पार्टी एकताबद्ध भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको छ । कांग्रेसमा धेरै सांसदहरू नयाँ भएकाले विश्वासको मत लिने प्रक्रिया के हुन्छ र कसरी हुन्छ भन्नेबारेमा समेत सांसदहरूलाई जानकारी गराउने काम भएको छ ।’आफ्नो हातमा आएको सरकार निर्माणमा सफलता प्राप्त नभएपछि कार्यकर्ता तहमा आक्रोश छताछुल्ल भइरहेको अवस्थामा सभापति देउवाले पार्टीका शीर्ष नेताहरूलाई सँगै बोलाएर आगामी रणनीतिका बारेमा पहिलोपटक छलफल गर्नुभएको हो । कांग्रेसले अन्य कुनै दलका नेताहरूलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको र अस्थिरताको खेलमा नलाग्ने पनि कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले अन्य दलका नेताहरूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने हल्ला निराधार भएको दाबी गर्दै भन्नुभयो– ‘संसदको सबैभन्दा ठूलो दल कांग्रेस देशको जिम्मेवार पार्टी भएकाले सशक्त प्रतिपक्षमा बस्छ । कसैलाई प्रधानमन्त्री भइदेउ भनेर हिड्दैन । बरू सत्ता सहयात्री दलहरूबीच नै भागबण्डाको कुरा नमिल्दा कांग्रेसले प्रस्ताव गरिदियोस् र बार्गेनिङ पावर बढाउन सकिन्छ भन्ने सोचेको होला त्यो कांग्रेसले गर्दैन ।’

जनताका आवाज सदनबाट निरन्तर उठाइरहने भन्दै शर्माले सरकारलाई देश र जनताका पक्षमा गरेका कामको गुण र दोसका आधारमा पक्ष वा विपक्षमा आफ्नो धारणा बनाउने बताउनुभयो ।

शनिबार बसेको दलको बैठकले कांग्रेसलाई प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रूपमा विजयी गराएकोमा मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी एवं संघीय संसद्का सांसदहरू सहभागी थिए । संसदीय दलको अर्को बैठक पुस २६ गते सदन बस्नुअघि संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति:January 8, 2023