प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा धारणा राख्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रचण्डले राखेको विश्वासको मतको पक्षमा आफ्नो धारणा व्यक्त गरेका हुन् ।
संविधानको रक्षाका लागि प्रचण्डलाई विश्वासको मत दिनुपरेको देउवाको भनाइ छ । उनले भने, ‘संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रोसामु आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो । प्रधानमन्त्री प्रचण्ड संविधानको पक्षमा उभिनुहुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि प्रस्तावको पक्षमा नेपाली कांग्रेसले मतदान गर्नेछ ।’
देउवाले प्रतिनिधिसभाको हिजोको बैठकमा एमाले संसदीय दलका नेताको रूपमा केपी ओलीले सम्बोधन गर्दै आफूले हिजो गरेको प्रतिनिधिसभा भंग गरेको निर्णयको बचाउको विरोध गरे । सो धारणाभित्र संसद् पुनः विघटन गर्न सकिने कुरा लुकेको उनले तर्क गरे ।