गृहको निर्देशनपछि ७३७ क्रसर उद्योग बन्द

  Sampatti News Online

January 10, 2023

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार व्यावसायिक प्रयोजन राखेर सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् ।

प्रक्रिया पुरा गरेर दर्ता भएको तर, नवीकरण नभएको क्रसर र बालुवा उद्योगको संख्या १४३ छन्  । व्यावसायिक प्रयोजनमा सञ्चालित त्यस्ता उद्योग नवीकरण प्रक्रियामा रहेको बताइएको छ ।

दर्ता र नवीकरणसहित व्यावसायिक प्रयोजनमा देशभर ७ सय ३४ वटा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेको पाइएको छ । विकास आयोजनाहरूले दर्ता र नवीकरण गरेर १०८ वटा त्यस्ता उद्योग सञ्चालन गरेको भेटिएको छ ।

 गृह मन्त्रालयका अनुसार अहिले देशभर वैधानिक रूपमा ८४२ क्रसर र बालुवा उद्योग सञ्चालनमा छन् ।

प्रकाशित मिति:January 10, 2023