तीन दिनभित्र विदेशी कामदारको एप्रुभल दिने मलेसियाको तयारी

  Sampatti News Online

January 11, 2023

क्वालालम्पुर : मलेसियाले तीन दिनभित्र विदेशी कामदारको एप्रुभल दिने तयारी गरेको छ । १५ देशका विदेशी कामदार लिँदै आएको मलेसियामा विदेशी कामदारको एप्रुभलमा भएको ढिलाइले अर्थतन्त्रमा समस्या सिर्जना गर्न सक्ने निजी क्षेत्रको चेतावनीपछि सरकारले सकेसम्म छिटो एप्रुभल दिने व्यवस्था गरेको हो । 

मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले वैदेशिक कामदार भर्नाको छुट योजना सात क्षेत्रमा सीमित गरेर आवेदन दिने रोजगारदाताले तीन दिनभित्र आफ्नो आवेदन स्वीकृत गराउन सक्ने व्यवस्था गरिएको बताएका छन् ।

योजनाले रोजगारदाताहरुको आवश्यकता र क्षमताको आधारमा पूर्व–शर्त र कोटा प्रणालीमा नगई श्रोत मुलुकका विदेशी कामदारहरुको प्रवेश स्वीकृत गर्न सजिलो बनाएको र नयाँ व्यवस्था तुरुन्तै लागू हुने पनि गृहमन्त्री इस्माइलले बताए । 

मलेसियाले नेपालसहित बंगलादेश, कम्बोडिया, भारत, इन्डोनेसिया, काजाकिस्तान, लाओस, म्यानमार, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, तुर्कमेनिस्तान, उज्वेकिस्तान र भियतनामलाई श्रोत मुलुकमा राखेको  छ । 

स्वीकृत सात क्षेत्रमा औद्योगिक, निर्माण, वृक्षरोपण, कृषि, सेवा, घरेलु कामदार, खानी र उत्खनन् क्षेत्र छन् । मलेसियाको पाम आयल उद्योगमा तत्काल २ लाख विदेशी कामदारको अभाव देखिएको छ ।  

प्रकाशित मिति:January 11, 2023