आज सत्ता गठबन्धनको बैठक बस्दै, को को वन्दै छन नयाँ मन्त्री ?

  Sampatti News Online

January 12, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् ।

तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री दाहालले सत्ता साझेदार ७ दलबाटै मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका छन्। उनले बालकोट पुगेर बुधबार साँझ सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी गरेका थिए।

पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस ११ गते शपथ लिएका थिए। त्यसबेला ८ जना मन्त्री बनाए पनि केही मन्त्रीको जिम्मेवारी तोकिएको छैन। माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र  पार्टीका रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उपप्रधानमन्त्री माग गरिरहेका छन्। राप्रपाले उपप्रधानसहित ४ मन्त्रालय दाबी गरेको छ।

अहिले विष्णु पौडेल अर्थमन्त्री, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री र रवि लामिछाने गृहमन्त्री छन्। सरकारले न्यूनतम साझा कार्यक्रमसमेत ल्याइसकेको र प्रधानमन्त्रीले विश्वासको मतसमेत लिइसकेकोले अब छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने गरी प्रधानमन्त्रीले छलफललाई तीव्रता दिएका छन्।

‘मन्त्रिपरिषद विस्तारबारे उहाँले सत्ता साझेदार दलका नेताहरूसँग छलफल गर्नुहुन्छ’ प्रधानमन्त्रीनिकट स्रोत भन्छ–‘सत्ता साझेदार दलको बैठक पनि बस्छ। छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ।’

कुन दलबाट को को मन्त्री वन्दैछन् भन्ने अहिले टुङ्गो लागेको छैन। तर, सवै सत्ता साझेदार दलले मन्त्री वन्नेहरुको नामावली तयार गरिरहेको जनाईएको छ।

प्रकाशित मिति:January 12, 2023