सन्दीप लामिछाने धरौटीमा रिहा

  Sampatti News Online

January 13, 2023

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रबार) काठमाडौँ जिल्ला अदालतबाट रिहा भएका छन्। 

उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित उनलाई शुक्रबार दिउँसो थुनामुक्त गरिएको हो। उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन्।

सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीका–टिप्पणी गर्न पनि निषेध गरेको छ। 

सन्दीप थुनामुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनका वकिल सरोजकृष्ण घिमिरेले सन्दीपको अनुपस्थितिमा नेपालको क्रिकेट धराशायी भएको अवस्थालाई मध्यनजर गरी क्यानले पुनः सन्दीपलाई कप्तानी दिनेमा विश्वस्त रहेको बताए।

बिहीबार न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौँको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको थियो।

प्रकाशित मिति:January 13, 2023